काठमाडौँ– यही फागुन २३ गते देखि सञ्चालन हुने दोस्रो चरणको कोरोना खोप अभियानमा ५५ वर्ष माथिका व्यक्तिलाई प्राथमिकतामा राखी खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभाग प्रमुख डा. झलक गौतमले दोस्रो चरणको खोप ५५ वर्ष माथिका सबै नागरिक, प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई खोप लगाइने जानकारी दिनुभयो ।
डा. गौतमले पहिलो चरणमा खोप लगाएका सबै व्यक्तिलाई दोस्रो मात्राको खोप ८ हप्ताको फरकपछि वैशाख ७ गतेदेखि १५ सम्म खोप लगाइने जानकारी गराउनुभयो । यस्तै, नेपालमा हालसम्म लक्षित समूहका ८५ प्रतिशतले कोरोना खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार खोप अभियानको पहिलो प्राथमिकता र पहिलो प्राथमिकताको दोस्रो चरणमा परेका ४ लाख २९ हजार ७ सय ५ व्यक्तिले खोप लगाइसकेका छन् । सरकारले प्राथमिकताका आधारमा खोप प्राप्त गर्न योग्य ७२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउने जनाएको छ ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणपछि मृत्यु हुनेमा ६ सय १८ मृत्यु सङ्ख्या थप गरेको छ । गत एक वर्षको मृत्युको विश्लेषण गर्दा शव व्यवस्थापन तथा लक्षण देखिएका व्यक्तिको अध्ययनको आधारमा मृत्यु सङ्ख्या थप गरिएको स्वास्थ्य मन्त्रालयको प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २ हजार ६ सय ८४ पुगेको छ । आज देशभर ७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार १ सय ३९ पुगेको छ । देशभर ३ हजार ६ सय ९२ वटा नमूनाको परिक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ ।