हेटौंडा–हेटौंडा–१० मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख खुलालले सहकारी संस्थाहरु व्यवस्थित भएर संचालन हुनु पर्ने बताउनुभएको छ । उहाँले सहकारीहरु सुधार हुँदै जान जरुरी रहेको भन्दै एउटै व्यक्ति एक भन्दा बढी संस्थामा सदस्य हुने कुरा सुधार हुनु पर्ने बताउनुभएको छ । उहाँले सहकारमा ऋण असुली अहिलेको सबै भन्दा ठुलो समस्या रहेको भन्दै ऋण असुलीमा ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले संस्थाको प्रगतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि तथा २०७५ सालको एसइइमा उत्कृष्ट नतिजा ल्याउने सहकारी सदस्यका छोरा छोरीलाई सम्मान समेत गरिएको सचिव भोजमान श्रेष्ठले जानकारी दिनुभयो ।