मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१३ र १४ स्थित नेपाल सरकारको स्वामित्वमा स्थापना गर्न लागिएको मयुरधाप औद्योगिक क्षेत्रको वातावरणिय प्रभाव मुल्याङ्कन (ईआईए) तयार भएको छ । प्रस्तावित औद्योगिक क्षेत्रको ईआईए प्रतिवेदनका सम्बन्धमा आज उक्त क्षेत्रका स्थानीय नागरिकसंग सार्वजनीक सुनुवाई समेत गरिएको छ ।

औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडका निर्देशक सञ्जयलाल मानन्धरको सभाध्यक्षता तथा सविधानसभा सदस्य अनन्त प्रसाद पौडेलको प्रमुख आतिथ्यता सार्वजनीक सुनुवाई भएको हो । कार्यक्रममा प्रमुख अतिथि पौडेलले औद्योगिक क्षेत्र निर्माणले उक्त क्षेत्रका नागरिकको आर्थिक सामाजिक स्तर बृद्धि हुने बताउनुभयो । उहाँले आयोजना सञ्चालनका लागि स्थानीयको सहयोग महत्वपूर्ण हुने हुँदा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

सार्वजनीक सुनुवाई कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले इआइए प्रतिवेदनमा आएका रिपोर्टलाई कार्यान्वयन गर्न सुझाव दिनुभयो । उहाँले प्रतिवेदन कागजमा मात्र हैन व्यवहारमा पनि कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले औद्योगिक क्षेत्रबाट प्रत्यक्ष रुपमा प्रभावित हुने स्थानीय नागरिकको जायज माग र धारणाहरु सम्बोधन गर्नुपर्ने उहाँको भनाई थियो ।
२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको र २०७३ साउन ६ गतेको मन्त्रिपरिषद् निर्णयले औद्योगिक क्षेत्र स्थापना गर्न जग्गाको लालपूर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा नामसारी भएर काम अगाडी बढिसकेको छ । वातावणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्ने सिलसिलामा बन तथा वातावरण मन्त्रालयबाट क्षेत्र निर्धारण तथा कार्यसूची स्वीकृतिपछि सो सम्बन्धि सार्वजनिक सुनुवाइ गरिएको हो ।

औद्योगिक क्षेत्र स्थापना सम्बन्धि कार्य अघि बढाउन २०७५ कार्तिक ५ गते औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरिएको थियो र औद्योगिक क्षेत्र स्थापना सम्बन्धमा नेपाल सरकारबाट आर्थिक वर्ष २०७३÷०७४, आव २०७४÷०७५ र आव २०७५÷०७६ का नीति तथा कार्यक्रममा समावेश भएर बजेटसमेत बिनियोजन भएको थियो । हाल उक्त क्षेत्रमा अधिकांश सिमानामा तारबारले घेर्ने कार्य सम्पन्न भएको छ । स्वीकृत डीपीआरअनुसार औद्योगिक क्षेत्रमा ७ देखि १४ रोपनीसम्मका ६२ वटा औद्योगिक प्लट छुट्याइएको छ । नेपाल सरकारको निर्णयअनुसार सुरक्षण मुद्रण विभागलाई २ सय ५० रोपनी जमिन उपलब्ध गराइसकिएको छ ।

कार्यक्रममा आयोजनाको परार्मदाता कम्पनी नेस/बि. डि. ए. नेपाल/ एडि. एम सी (जेभि) कातर्फबाट रमिता श्रेष्ठले प्रतिवेन प्रस्तुत गर्नुभएको थियो । उहाँले आयोजनाको भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाका साथै आयोजनाबाट प्रर्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा जानकारी दिनुभएको थियो । वातावरणिय प्रभाव मुल्याङ प्रतिवेदनमा उहाँले हेटौंडामा स्थापना हुन लागेको दोस्रो औद्योगिक क्षेत्रका पूर्वाधार निर्माणका लागि करिब ७ अर्ब २ करोड ३४ लाख लाग्ने अनुमान गरिएको बताउनुभयो । उहाँले उक्त औद्योगिक क्षेत्रमा ५ दर्जन बढी उद्योग रहने र औद्योगिक क्षेत्र सञ्चालनपछि दक्ष, अर्धदक्ष र अदक्ष गरी करिब १० हजार जनाले प्रतयक्ष रोजगारी पाउने उहाँले बताउनुभयो ।
आयोजना स्थापनाबाट स्थानीयस्तरमा विकासका अवसर, जमिनमा नयाँ संरचना विकास, आयोजना क्षेत्रमा विभिन्न सुविधाको पहँुच बाटो, खानेपानी, स्थानीयलाई रोजगारीका अवसर, सरकारी सेवा वृद्धि, आन्तरिक राजस्व वृद्धि, स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव, सहुलियत दरका वस्तु तथा सेवासुबिधा, आयोजनावरिपरि तथा भित्र हरित क्षेत्र संरक्षण तथा प्रवद्र्धनलगायत सकारात्मक प्रभाव पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा उक्त क्षेत्रमा कुल ५० प्रजातिका चराचुरुंगी तथा १३ प्रजाति घस्रने जीवजन्तु पाइन्छ । उक्त क्षेत्रमा पाइनेमध्ये १४ प्रजातिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जोखिम वर्गमा सूचीकृत गरिएका छन् । जसमध्ये ९ वटा स्तनधारी २ वटा पक्षी तथा ३ वटा घस्रने जनावर पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय नागरिकहरुले औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगहरुमा दक्षताका आधारमा स्थानीयलाई रोजगारी दिनुपर्ने, वातावरणमैत्री उद्योग सञ्चालनका लागि आवश्यक प्रवन्ध मिलाउनु पर्ने, उक्त क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य, सडक पुर्वाधारलगायतका कार्यलाई प्राथमिक्ता दिनुपर्ने लगायतका मागहरु राखेका छन् । उक्त औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगलाई बढी प्राथमिकता दिइने उल्लेख गरिएको छ । कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकाल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, १३ नम्बर वडा अध्यक्ष मनोज वाइबा, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल र वातावरणविद् भुपेन्द्र शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।