मकवानपुर – मकवानपुरमा बुधबार भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति कार्यालयमै स्थाना गरिएकाे आयोगकाे कार्यालयकाे आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले मकवानपुर जिल्लाको भुमि सम्बन्धी समस्या समाधानमा आयोगले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । भूमि सम्बन्धी समस्यालाई अब प्रभावकारी रुपमै समाधान गर्नेगरि काममा खटिन आग्रह गर्नुहुँदै उहाँले जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एक जना अध्यक्ष, एक जना विज्ञ सदस्य र एक जना सदस्य गरी तीन जना हुनुहुन्छ । यस्तै आयोगमा डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुख सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्य सचिव हुनुहुन्छ । कार्यालय उद्घाटनसंगै प्रमुख खुलालले आयोगका अध्यक्ष एवम् सदस्यहरुलाई कार्यकक्षमा स्वागत समेत गर्नुभएको थियो ।

कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले आयोग मार्फत जिल्लामा भूमिविहीनलाई जग्गा, लालपुर्जा लगायत भूमि सम्बन्धी समस्याको समाधानलाई प्रभावकारी रुपमा अघि बढाउने बताउनुभयो । उहाँले जिल्लामा भुमि सम्बन्धी समस्या समाधानका लागि संघीय सरकार मार्फत ८ वटा पालिकामा सम्झौता भएर काम समेत सुरु भईसकेको र बाँकी पालिकाहरुमा समेत छिट्टै काम सुरु गरिने बताउनुभयो । जिल्लाको कैलाश र ईन्द्रसरोवर गाउँपालिका बाहेक स्थानीय तहमा भुमि सम्बन्धी तथ्याङ्क सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला अध्यक्ष रानाको अध्यक्षता भएको कार्यक्रममा आयोगका केन्द्रिय सदस्य केशव देवकोटा, आयोगका सदस्यहरु तुलसी रिजाल, प्रतिमा श्रेष्ठ, सदस्यहरु नापी कार्यालय प्रमुख पूर्णहरी सुवेदी, मालपोत कार्यालय प्रमुख रामचन्द्र भण्डारी, सदस्य सचिव जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्य देवराज रिमाललगायतको सहभागिता थियो ।
