काठमाडौं । समुद्री आँधीसम्बन्धी अमेरिकी निकाय एनएचसीका अनुसार आधुनिक तथ्याङ्क राख्न थालिएयताकै डोरिअन ‘अति खतरानाक’ आँधी आउने देखिएको छ । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा डोरिअन नामक क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी उत्तर–पश्चिमी बहामस पुगेको हो ।
ग्र्यान्ड बहामाका बासिन्दाहरूलाई आँधीको अनुमानित मार्गबाट अन्यत्र सारिएको छ । जनजीवनका लागि आँधी घातक हुन सक्ने र सात मिटर उचाइसम्म पुग्न सक्ने भन्दै अधिकारीहरूले सचेत गराएका छन् । स्थानीय समयानुसार दिउँसो १२ः४० मा आँधी उत्तरी बहामसमा पर्ने एबाको टापुको एल्बोकी पुगेको थियो । स्थानीय बासिन्दाहरूले केही घरहरूमा बाढी पसेको र आँधीले घरका छाना उडाएको दृश्य सामाजिक सञ्जालमा प्रकाशित गरेका छन् ।
डोरिअन आँधी ग्रेट एबाको टापु र नजिकका क्षेत्र अथवा ग्र्यान्डा बहामा टापुमा आइतवार अबेर वा सोमवारसम्म पुग्ने अपेक्षा गरिएको छ । अधिकारीहरूले टापुका केही विमानस्थल बन्द गराए पनि आइतवार प्रमुख विमानस्थल खुला राखिएको छ । बहामसलाई हानेपछि डोरिअन आँधी संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयानुसार सोमवार अबेर प्रवेश गर्ने अनुमान गरिएको बीबीसले उल्लेख गरेको छ ।
यसअघि बहामसका प्रधानमन्त्री हुबेर्ट मिनिसले ग्र्यान्ड बहामा र एबाको टापुका कतिपय स्थानबाट मानिसहरूलाई अन्यत्र सार्न आदेश दिएका थिए । सबै पर्यटकहरूलाई त्यहाँबाट बाहिर जान आदेश दिइएको थियो । आइतवार एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री मिनिसको गहभरि आँसु थियो । उनले भने, “बहामसका जनतालाई सम्बोधन गरिरहँदा सम्भवतः यो मेरो जीवनको सबैभन्दा दुःखद र नराम्रो दिन हो ।”
डोरिअन ठ्याक्कै जाने मार्ग अनिश्चित छ । तर संयुक्त राज्य अमेरिकाका चारवटा राज्य फ्लोरिडा, जोर्ज, साउथ क्यारोलाइना र नर्थ क्यारोलाइनामा आपत्कालीन अवस्था घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले डोरिअन आँधीसँग सम्बन्धित घटनाक्रमलाई नियालिरहेको बताएका छन् । उनले पोलन्ड जाने निर्धारित कार्यक्रम भ्रमण स्थगित गरी आफ्नो ठाउँमा उपराष्ट्रपति माइक पेन्सलाई पठाएका छन् ।