हेटाैंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चितवनमा प्रधानमन्त्री केपी ओली पक्षको नेकपाको जनसागर देखेर बिरोधिहरुलाई हर्टअट्याकसम्म हुनसक्ने भन्दै देशभरीका आइसीयु पुर्ण रुपमा सञ्चालनमा राख्न आग्रह गर्नुभएको छ । नेकपा चितवनले आज भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले आफुहरुको पक्षमा उपस्थित भएको जनसागर देखेर बिरोधिहरुको मुटु थर्किने, हर्ट अट्याक सम्म हुनसक्ने भन्दै देशभरीका आइसीयुहरु पूर्ण रुपमा सञ्चालमा (सुरक्षित) राख्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले भन्नुभयो– “चितवनमा आज उर्लिएको जनसागर देखेर बिरोधिहरुलाई हृदयघात हुनसक्छ, आइसियुमै भर्ना गर्नुपर्ने हुनसक्छ । त्यसकारण आज हाम्रा सबै डाक्टरहरुलाई देशैभरका सम्पूर्ण अस्पतालको आईसियू सेवा पूर्ण संचालनमा राख्नुहोला ।’ उहाँले जनसागर देखेर अर्को पक्षले नारायणिमा फाल हाल्ने सम्भावना हुन सक्ने भन्दै नारायणी नदीमा सुरक्षा गस्ती बढाउनुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो–“हाम्रो पक्षमा उर्लिएको जनसागर देखेर अर्को पक्षका केहीले नारायणीको पुलबाट फाल हाल्ने सम्भावना हुनसक्छ, आत्महत्या गर्न सक्छन नदीमा निगरानी बढाउनु । त्यसरी सिधै आत्महत्या गर्न दिन पनि हुँदैन । ’
मुख्यमन्त्री पौडेलले अहिलेको सरकारले देश र जनताको लागि धेरै काम गरेको भन्दै अहिलेको सरकारले के गरेन होईन, के गरेन ? भनेर प्रश्न गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री पौडेलले भन्नुभयो–“जस्ले यो सरकारले केहि गरेन भन्छ, तपाई प्रश्न गर्नुस, सरकारले के गरेन होईन, के गरेन ? के गर्न बाँकी रह्यो ? भनेर औला ठड्याउनुस । उहाँले भन्नुभयो–“हो यो सरकारले लुटतन्त्र मच्चाएन, यो सरकारले भ्रष्टाचार गरेन, नगरेको कुरा यहि हो ।” उहाँले देशको समृद्धि र विकासका लागि यो सरकार कहि कुनै पनि ठाउँमा नचुकेको उहाँको भनाई थियो । उहाँले अहिलेको सरकारले लिएको समृद्धिको यात्रामा साथ दिन समेत सबैलाई आग्रह गर्नुभयो ।