मकवानपुर– बागमती प्रदेश सरकारले सञ्चालन गर्ने प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी प्रतिवेदन तयार भएको छ । प्रदेशको उच्च शिक्षाको विकासको लागि गठित प्रदेश विश्वविद्यालय स्थापना अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन आज सामाजिक विकासमन्त्रालय समेत सम्हालिरहनुभएका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाएको हो ।

बागमती प्रदेश सरकारले प्रदेश विश्वविद्यालय स्थापनाका लागि अध्यन गर्न प्राध्यापक डा. युवराज सङ्ग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले करीब ३ महिना समय लगाएर तयार पारेको १७८ पेजको प्रतिवेदन मन्त्रालयमा आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरिएको हो । प्रतिवेदनमा प्रदेश विश्वविद्यालयको भौतिक पुर्वाधार, विधेयक, संगठन संरचना तथा पाठ्यक्रमको आधारभूत संरचनालगायत कुरा समेत समेटिएको छ । सो अवसरमा प्राध्यापक डा. सङ्ग्रौलाले प्रतिवेदमा समेटिएका मुख्य सारवस्तुका बारेमा जानकारी समेत दिनुभएको थियो ।

प्रतिवेदन ग्रहण गर्नुहुदै मुख्यमन्त्री पौडेलले आवश्यक छलफल गरेर विश्वविद्यालय संचालन गर्ने ऐन बनाएर अगाडि बढ्न सकिने बताउनुभयो । ३ महिनाको छोटो अवधिमा प्रतिवेदन बुझाउन सफल भएकोमा उहाँले कार्यदलका सम्पूर्ण टिमलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।