हेटाैंडा– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ महिने ए डिभिजन लिगसहितको वार्षिक क्यालेन्डर तयार पारेको छ । एन्फाको प्रतियोगिता कमिटिले शीर्ष डिभजिनको लिगसहित अर्को वर्षको वार्षिक क्यालेन्डर तयार पारेको हो ।
एन्फाले आगामी वर्षको ए डिभिजन लिग भाद्रदेखि माघसम्म ६ महिना सञ्चालनको तयारी गरेको छ । यसअघि करिब तीन महिने लिग एन्फाले सञ्चालन गर्दै आएको थियो । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ ९एएफसी०ले समेत कम्तीमा ६ महिना लिग सञ्चालनका लागि एन्फालाई दबाब दिदै आएका थिए ।
एन्फाको वार्षिक क्यालेन्डर अनुसार बैशाखमा फुटसल, ए डिभिजन लिग र पुरुषको यू–२२ अन्तर नगरपालिका फुटबल प्रतियोगिता हुनेछ । एन्फाले जेठ महिनामा ४ राष्ट्र सम्मिलित महिलाको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेलाउने कार्यक्रम तयार गरेको छ । नेपालले जेठ २४ मा विश्वकप छनोटको जोर्डनविरुद्धको खेल दशरथ रंगशालामा खेल्नेछ । यस्तै, विश्वकप छनोटको खेल चैत १३ र १७ गते दशरथ रंगशालामा आयोजना गर्ने र फुटसल प्रतियोगिता चैत १ गतेबाट बैशाख ७ गतेसम्म सञ्चालन गर्दै यस वर्षको फुटबल सिजन समापन गर्ने एन्फाको योजना छ ।