बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्व योजनाअनुसार भारत आउन नसकेको भन्दै दुःख प्रकट गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रधानमन्त्री जोनसनले बेलायतमा भाइरसको फैलावट बढ्दै गइरहेकाले स्वास्थ्य सङ्कटका बेला आफू विदेश भ्रमणमा निस्कनु उचित नभएको भन्दै तत्कालका लागि भ्रमण स्थगित गरिएको जानकारी गराउनुभएको समाचार संस्थाले बताएका छन् । जोनसनले यसै वर्ष बेलायतमा आयोजना हुने अति विकसित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनमा भारतलाई अतिथि देशका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिने कार्यक्रम रहेको थियो । अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका देश विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।बेलायतले युरोपेली सङ्घ ९ईयू० को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले ब्रेक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको थियो ।