मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास विरोधि र जनताको अहित चाहनेहरुले आफु बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सवको समापन कार्यक्रममा बोल्दै विकास विरोधि र जनताको अहित चाहनेहरुले मुख्यमन्त्रीले काम गर्न सकेन भनेर हस्ताक्षर गरेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आफु मुख्यमन्त्री भएकै कारण पनि मकवानपुरको तिव्र बिकास भएको दावि गर्नुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधार विकासमा विस्तारै फड्को मारिरहेको अवस्थामा मिसन र भिजन विनाका आफ्नै जिल्लाका सांसदले आफुमाथी अविश्वास गरि विभिन्न आरोप लगाएको बताउनुभयो । आफुलाई हटाउन मकवानपुरबाटै निर्वाचीत सांसदले हस्ताक्षर गरेको भन्दै ती सांसदहरुलाई मकवानपुरको विकास अपच भएको उहाँको भनाई थियो । मुख्यमन्त्री पौडेलले सरकारले सुरुङमार्ग, विद्युतीयबसको संचालनको तयारी, सडक चौडा गर्ने कार्य, हेटौंडा अस्पतालको स्तोरोन्ती लगायत भौतिक पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, सडकलगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभयो । तर, विकास विरोधी सांसदले मुख्यमन्त्रीले काम गर्न सकेनन् भन्दै आरोप लगाएको उहाँको भनाई थियो ।

मुख्यमन्त्री पौडेलले २५ वर्ष लाग्दै गरेको अवस्थामा सहकारीले पुँजी वृद्धि गर्दै धेरै काम गर्ने, उद्योग संचालन गर्ने, रोजगारीको सिर्जना निर्माण गर्ने जस्ता काम अब सहकारीले गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको अर्थतन्त्रको मुख्य मेरुदण्ड सहकारी रहेकोले साना सहकारी अब ठुला सहकारी संग एकिकरण गरि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनसंग जोडेर ऋण लगानी गरि शेयर सदस्यको आर्थिकस्तर वृद्धि गर्न सहकारीको योगदान रहेको हुदाँ सबै आर्थिकवृद्धितर्फ लम्किने उहाँको भनाई थियो ।

संस्थाका अध्यक्ष रामहरी न्यौपानैको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको अतिथ्यता थियो ।
संस्थाले रजत महोत्सवको अवसरमा विभिन्न विधाहरुमा पुरस्कृत तथा सम्मान गरेको छ । असल बचतकर्ता, असल ऋणी, उत्कृष्ट बचत बर्ता, वडा नम्बर ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, पत्रकार प्रताप विष्ट, निवर्तमान अध्यक्ष निरंजन ढकाललाई समेत सम्मान गरिएको थियो । संस्थाले शेयर सदस्यलाई १७ करोड ७९ लाख ५३ हजार ऋण प्रवाह गरेको छ । ४ करोड ७५ लाख ७८ हजार शेयरपुँजी रहेको सहकारीमा २१ करोड ७९ लाख १४ हजार बचत निक्षेप रहेको छ । संस्थाले असार मसान्त सम्म १ अर्ब १७ करोड ८८ लाख १६ हजार कारोबार गरेको छ ।