मकवानपुर– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मकवानपुरको विकट कैलाश गाउँपालिकाका ४२५ परिवारलाई कम्बल वितरण गर्नुभएको छ । बुधबार एक कार्यक्रमका अवसरमा उहाँले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।

समाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवम् केएफएचआइ नामक संस्थाको सहयोगमा कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले उक्त क्षेत्रका नागरिकलाई कम्बल वितरण गर्नुभएको हो । कम्बल वितरण गर्नुहुँदै सभामुख श्रेष्ठले नागरिकलाई चसोबाट जोगाउने दायित्व सबैको भएको बताउनुभयो । वृद्धवृद्धा, असहाय र गरिबलाई चिसोबाट जोगाउन प्रति परिवार एउटाको दरले ४२५ परिवारलाई कम्बल वितरण गरिएको छ ।

चिसो मौसम सुरु भएको र उक्त क्षेत्रमा अत्याधिक चिसो हुने भएकाले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई चिसो बाट जोगाउने उदेश्यका साथ कम्बल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भई न्यानो ओढ्ने, ओछ्याउने नभई समस्या उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बाल विकास कार्यक्रम नेपालका संयोजक रामलाल स्याङवोले बताउनुभयो । संस्थाले गाउँपालिकाको ३, ४, ९, १० वडालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

बाल विकास कार्यक्रम नेपालका संयोजक स्याङ्वोको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य ओम बहादुर घलान, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, उपाध्यक्ष सुकुमाया थिङ्, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य बुद्धि बहादुर मुक्तान, नेकपा मकवानपुरका नेता एकलाल श्रेष्ठ, सहयोगि संस्था केएफएचआइ का नेपाल डाइरेक्टर जेम्स पार्क, आयोजक संस्थाका जनक रिजाललगायत सम्बन्धीत वडाका वडाअध्यक्षहरुको उपस्थिती थियो ।