मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ । मङ्सिर २७ मा गर्ने भनिएको ट्रेड युनियनको निर्वाचन कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम कायमै रहेकाले तोकिएको समयमा गर्न नसकिने निर्णय बैठकले गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता पार्वत गुरुङले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । यसअघि नै मन्त्रिपरिषद् बैठकले २०७८ वैशाससम्म ट्रेड युनियनको म्याद थप्ने निर्णय गरिसकेको छ ।
गोरखापत्र अनलाइन