हेटौँडा औद्योगिक क्षेत्रमा स्थित युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज आजबाट पुन संचालनमा आउने भएको छ । करिब २ बर्षदेखि बन्द अवस्थामा रहेको उद्योग ५ करोडको लागतमा संचालनमा ल्याइएको उद्योगका संचालक एवम् उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले जानकारी दिनुभयो। संचालनमा आएसंगै उद्योगले ‘सन्रे’ नामक भाँडा माझ्ने सर्फ, ‘उर्जा’ नामक कपडा धुने सर्फ, माँडा माफ्ने साबुन, कपडा धुने खोल नभएको साबुन लगायतका सामग्री मासिक ७ सय टनसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यसरी उत्पादित सामग्रीलाई प्रथम चरणमा मकवानपुर, काठमाडौँ लगायतका जिल्लाहरुमा बिक्रिवितरण गरिने र केही महिनाभित्रै बागमती प्रदेशभर बजार विस्तार गर्दै लैजाने जनाइएको छ । उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्येक्ष रुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने संचालक अर्यालले बताउनुभयो । उद्योगमा केही नयाँ मेसिनहरु थप गर्नुको साथै विदेशी कम्पनीको तुलनामा राम्रो र सेवामुलक बनाइने र बजारको माग अनुसार उत्पादन तथा लागतमा समेत बृद्धि गरिने संचालक आर्यालको भनाई रहेको छ । आज एक कार्यक्रमकाबीच हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल, र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालले रिबन काटेर उद्योगको उद्घाटन गर्नुभएको छ। सोही कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कंडेलले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेका उद्योगहरु यसैगरी पुन संचालनमा ल्याउनुपर्ने र उद्योगीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट सहयोग प्राप्त हुनुपर्ने बताउनुभयो ।