मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन क्षेत्रको संरक्षण र व्यवस्थित प्रयोग गर्नु पर्ने बताउनुभएको छ । सोमबार डिभिजन वन कार्यालय हेटौंडाको वार्षिक समिक्षा गोष्टि कार्यक्रममा बोल्नुहुँदै प्रमुख खुलालले वन क्षेत्रलगायत प्राकृतिक स्रोतको संरक्षणसंगै व्यवस्थित प्रयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख खुलालले वन क्षेत्र र प्राकृतिक स्रोतको संरक्षण र उचित प्रयोगबाट आर्थिक उपलब्धी हासिल गर्न सकिने उहाँको भनाई थियो । उहाँले वन क्षेत्रको संरक्षणका लागि स्थानीय सरकारसंग सहन्वय र सहकार्य हुनु पर्ने समेत बताउनुभयो । “वन क्षेत्र र प्राकृतिक स्रोत रहेका क्षेत्रलाई व्यवस्थित गर्न सकारात्मक भएर समन्वय गर्न सकियो भने काम गर्न सहज हुँदै जानेछ ।”–उहाँले भन्नुभयो । उहाँले वन क्षेत्र र प्राकृतिक स्रोतको प्रयोग हाम्रो उन्नतिका लागि हो भन्ने बुझाईका साथ काम गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
प्रमुख खुलालले वन क्षेत्रको व्यवस्थित प्रयोगको लागि ऐन नियममा सुधार हुनुपर्ने समेत बताउनुभयो । उहाँले विभिन्न ऐन नियमकै कारण आफ्नो देशको काठ कुहाएर फाल्नुपर्ने र बाहिरी मुलुकबाट काठ आयात गरेर प्रयोग गर्नुपर्ने अवस्था रहेको भन्दै यसमा सुधार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाले गत आवमा गरेका कामहरुका बारेमा प्रस्तुति गर्नुका साथै वन व्यवस्थापन तथा संरक्षणमा आईपरेका समस्यालगायत विषयमा छलफल भएकोे थियो । जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष समेत रहनुभएका (जिसस) प्रमुख खुलालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्यहरु नेकपा मकवानपुरका सचिव एवम् बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, नेपाली कांग्रेस मकवानपुरका प्रतितिनिधि अर्जुन प्रसाद दाहाल, राप्रपा मकवानपुरका सिताराम बर्तौला, फेकोपन मकवानपुरका शम्भु प्रसाद न्यौपाने, डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख ईमनाथ पौड्याल, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेललगायत डिभिजन वन कार्यालय मातहतका सव डिभिजन वन कार्यालयका कर्मचारी, भेटेनरी अस्पतालका प्रतिनिधिलगायतको सहभागिता थियो ।