बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्तिले अनिवार्य रूपमा स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार निर्देशिका जारी गरी २५ लाख रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिले अनिवार्य रूपमा पान लिनुपर्ने व्यवस्था गरेको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकामा यस्तो संशोधन गरिएको छ ।यसअघि ऋण रकमको सीमा ५० लाख थियो। ऋणलाई पारदर्शी बनाउन गरिएको यो व्यवस्थाले साना ऋणीलाई केही जटिलता थप्नेछ ।
केन्द्रीय बैंकले निर्देशिकामार्फत शेयर धितोमा दिइने ऋणमा भने केही लचकता अपनाएको छ । बैंक तथा वित्तीय संस्थाले शेयर धितो राखेर दिने ५० लाखसम्म ऋण दिँदा १०० प्रतिशतसम्म मात्रै जोखिम भार राखे पुग्ने भएको छ । यसअघि २५ लाख रुपैयाँसम्म मात्रै यस्तो सीमा थियो ।