मकवानपुर– बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फँयाुलले पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । हेटौंडामा आज आयोजना कार्यालयको उद्धघाटन गर्दै मन्त्री फुँयालले प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सुरुङ्गमार्गलाई तोकिएको समयमै सक्ने बताउनुभयो ।
१८ अर्ब ७ करोड अनुमान गरीएको सुरुङ मार्ग निर्माण पछि प्रदेश मात्र नभई राष्ट्रले नै गर्ब गर्न लायकको हुने उहाँले बताउनुभयो । सुरुङमार्ग निर्माणले दीर्घकालीनरुपमा राष्ट्रलाई आर्थिक रुपमा समेत राम्रो फाइदा पुग्ने उहाँको भनाई थियो । उहाँले देशको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यो आयोजना निर्माणमा सहकार्य गर्न संघीय सरकारले समेत सहकार्य गर्ने हुँदा समयमै सम्पन्न हुने बताउनुभयो । सुरुङ्मार्ग निर्माणका लागि संघीय सरकारले यस अघिनै कार्यदल गठन गरेर काम सुरु गरिसकेको छ ।
पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी) सुरुङ निर्माण गर्न १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र दर्ता गराएका छन । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको परामर्शदाता छनोटका लागि भदौ १ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । विभिन्न मुलुकका १२ वटा कम्पनीले परामर्शदाताका निम्ति आशयपत्र दर्ता गराएको मन्त्रालयले जनाएको छ । सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन अनुसार ३ दशमलव २१ किलोमिटर लामो र १५ र ७ मिटर फराकिलो दुर्ई वटा सुरुङ निर्माण गरिने छ ।