मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले शैक्षिक सिकाई कृयाकलाप सञ्चालन गर्ने विषयमा आज अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । कोभिड–१९ का कारण लोमो समय देखि रोकिएको शैक्षिक सिकाई प्रकृया सञ्चालनका विषयमा गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसंग छलफल तथा अन्तरकृया गरेको हो । गाउँपालिकाले लामो समय देखि रोकिएको शैक्षिक कृयाकलाप सुचारु गर्ने सन्र्दभमा नेपाल सरकारद्धारा जारी विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ र विद्यालय शिक्षा सम्बन्धी आकष्मिक कार्ययोजना–२०७७ का विषयमा छलफल गरेको हो ।

छलफलमा जिल्ला शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आफ्नो परिवेश अनुसारको शैक्षिक कृयाकलापलाई सहज बनाउँदै लानु पर्ने बताउनुभयो । उहाँले कोभिड–१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाई प्रणाली सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन नभएसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजन गर्न सुझाव दिनुभयो । उहाँले वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रूप सिकाइलाई सुचारु गर्न वा त्यस्तो अवस्था नरहेकमा स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरेर शैक्षिक कृयाकलापहरुलाई सुचारु गर्दै लानु पर्ने बताउनुभयो ।
प्रमुख खुलालले कोरोना महामारीलाइ समान्य रुपमा नलिन आग्रह गर्दै स्वास्थ्य सावधानी अपनाएर शैक्षिक कृयाकलापहरु सुचारु गर्नुपर्ने सुझाव दिनुभयो । कोरोना सम्बन्धी जनचेतनाको अझै पनि कमी रहेको भन्दै जनतालाई सुसुचित र अनुशासित बनाउन गाउँपालिका लाग्नु पर्ने उहाँले बताउनुभयो । कोरोना केहि पनि होईन भन्ने र कोरोनाले सबै समाप्त पार्छ भन्ने कुरा दुबै गलत भएको भन्दै सधैं यसैगरी बस्न नसकिने हुँदा स्वास्थ्य सावधानी अपनाउँदै जनजिवनलाइ सामान्य बनाउने तर्फ लाग्नु पर्ने उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाको पालना गर्दै विद्यालयहरु खोल्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पावर्ती राना, जिल्ला समन्व्य अधिकारी आनन्दराज पोख्रेल, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवन कुँबरलगायत गाउँपलिकामा रहेका विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता थियो ।