मकवानपुर– जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले स्थानीय तहहरुमा विकासको गति निकै अगाडी बढेको बताउनुभएको छ । स्थानीय तहहरुको पहिलो चौमासिकको अनुगमनका क्रममा बिहीबार जिल्लाको भीमफेदी गाउँपालिकाको अनुगमनका क्रममा उहाँले अहिले स्थानीय तहहरुमा विकासले तिब्रता पाएको बताउनुभयो ।

प्रमुख खुलालले स्थानीय तहहरुमा विशेष गरि भौतिक विकासहरु तिब्र गतिमा भएको बताउनुभयो । तर, भौतिक विकासलाई मात्र विकासको सुचकका रुपमा नलिइकन समग्र विकासमा स्थानीय तहहरुले ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले हाम्रोजस्तो सामाजिक आर्थिक र भौगोलिक हिसाबले असमानता र विविधता धेरै भएको देशमा विकासको एकल ढाँचा होईन स्थानिय परिवेश सुहाउँदो र आवश्यकता र सरोकारहरु समेट्ने निर्दिष्ट खालका विकासको ढाँचा आवश्यक रहेको बताउनुभयो । त्यसका लागि दिर्घकालिन र रणनितिक योजनाका साथ स्थानीय तहहरुले काम गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले समग्र दिगो विकासको लक्ष्य हासिल गर्ने गरि विकासको अवधारणा बनाउनु पर्ने बताउनुभयो । प्रमुख खुलालले स्थानीय तहहरुले विकास पद्धतिमा परिर्वतन गर्न र विकासको अवधारणालाई फरक ढंगबाट सोच्न जरुरी रहेको बताउनुभयो । दिगो र भरपर्दो विकाससंगै मानिसको चेतना अभिबृद्धि र सभ्य समाज निर्माणमा पनि स्थानीय तहहरु लाग्न जरुरी रहेको उहाँको भनाई थियो ।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षहरुले चालु आर्थिक वर्षमा हालसम्मको प्रगतिका बारेमा जानकारी दिनुका साथै आइपरेका समस्याका बारेमा समेत जानकारी दिनुभएको थियो । अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोख्रेल, जिसस सदस्य देवराज रिमाललगायतको सहभागिता थियो ।