अधिकार कटौती भएको प्रति जिसस प्रमुखहरुको गम्भीर ध्यानाकर्षण

चितवन– जिल्ला समन्व्य समिति (जिसस) माहासंघ नेपाल, बागमती प्रदेश कमिटीको नवौं पूर्ण वैठक आज चितवनमा बसेको छ । माहासंघ बागमती प्रदेशका अध्यक्ष एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको हो ।

कोरोनाका कारण लामो समय बस्न नसकेको बैठक स्वास्थ्य मापदण्डको पालना गर्दै आज बसेको हो । बैठकमा जिल्ला समन्वय समितिहरुबाट हालसम्म भएका काम कारबाही, कोरोना भाइरस (कोभिड–१९) का सन्र्दभमा जिससबाट भएका काम, ढुंगा, गीट्टी, बालुवा सम्बन्धी नेपाल सरकारबाट जारी मापदण्डलगायत समसामयीक विषयमा छलफल भएको थियो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुखहरुले संघ र प्रदेश सरकारबाट जिससको अधिकार कटौती गरिदै गएको बताउनुभएको छ । जिल्ला समन्वय समितिले स्पष्ट कार्यविधि, स्रोत साधन र कर्मचारीको अभावका बिचमा पनि प्रभावकारी रुपमा काम गरेको तर, संघीय सरकारबाट संविधानमै व्यवस्था भएर प्राप्त अधिकार समेत कटौती गर्ने कार्य भएको उहाँहरुको भनाई छ । । आजको बैठकले विभिन्न निर्णय गर्नुका साथै जिससको अधिकारहरु कटौती गर्ने कार्य भएको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

उहाँहरुले प्रदेशबाट आइइ सम्बन्धी अधिकार प्राप्त भए पनि संघले कार्यविधि जारी गरेर कटौती गर्न खोजेको र संघीयता विपरित जिससलाई दिईएको अधिकार घुमाउरो किसिमले जिल्ला प्रशासन कार्यालयमा दिन खोजिएको उल्लेख गर्नुभयो । साथै प्रदेश सरकारबाट समयमै अनुदान रकम प्राप्त नहुँदा काम गर्न समस्या भएको उहाँहरुको भनाई थियो । उहाँहरुले संघीयता आए पनि कार्यशैली पुरानै भएको भन्दै विनियोजित बजेट समयमै उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँहरुले जिल्ला समन्वय समितिले संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वयको काम प्रभावकारी रुपमा गरेको तर, जिससलाई संविधान प्रद्धत अधिकार समेत कटौती भएको प्रति गुनासो गर्नुभयो ।
बैठकले महासंघ कमिटिको समयावधी समाप्त लागेकाले विषयमा समेत छलफल गर्दै आगामी बैठकबाट यस विषयमा टुंगोमा पुग्ने निर्णय गरेको छ । यस्तै जलवायु दिवश घोषणा गर्न संघीय सरकार समक्ष पहल गर्ने, प्रदेश सरकारका मुख्यमन्त्री अथवा सरकारसंग जोडिएर जिससका तर्फबाट कुनै दिगो काम गर्ने, ढुंगा, गीट्टी, बालुवा सम्बन्धी मापदण्डका विषयमा तथा जिससका अन्य विषयमा संघिय मन्त्री र सचिवको उपस्थितीमा छलफल गर्ने, अनुगमन समितिमा उपप्रमुखलाई राख्ने व्यवस्थाका लागि पहल गर्ने र जिससमा आवश्यक प्राविधिक कर्मचारी करारमा राख्न पाउने व्यवस्थाका लागि केन्द्र सरकार समक्ष पहल गर्ने लगायतका निर्णय गरेको छ ।
त्यस्तै बैठकले सिन्धुपाल्चोक जिल्लामा आएको प्राकृतिक प्रकोप (बाढी पहिरो) का कारण भएको धन जनको क्षती प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली एवम् समवेदना व्यक्त गर्ने निर्णय गरेको छ । साथै जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासिनीकी माता रुनादत्ता ज्ञवालीको गत भाद्र ७ गते ८० वर्षको उमेरमा र जिसस दोलखाकी उप प्रमुुख एवम् माहासंघ बागमती प्रदेश कमिटि सदस्य मनमाया जीरेलकी माता कुमारी जीरेलको ७२ वर्षको उमेरमा गत असोज ७ गते भएको असामयीक निधन प्रति बैठकले श्रद्धाञ्जली एवम् समवेदना व्यक्त गर्ने निर्णय गरेको छ । यस्तै बैठकले आउँदै गरेको विभिन्न चार्डपर्वका अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय समेत गरेको छ । बैठकमा महासंघ केन्द्रिय अध्यक्ष सिता सुन्दास, लगायत महासंघका केन्द्रीय प्रवक्ता, बागमती प्रदेश कमिटि सदस्य एवम् विभिन्न जिससका प्रमुख, उपप्रमुख तथा सदस्यहरुको उपस्थिती थियो ।