काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा रु. सात अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०४७÷७५ मा भने प्राधिकरणको खूद मुनाफा रु. दुई अर्ब ९० करोड रहेको थियो । प्राधिकरणको वार्षिक उपलब्धिका बारेमा जानकारी दिन आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले गत आर्थिक वर्षमा रु. सात अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको जानकारी दिनुभयो ।
विद्युत चुहावट नियन्त्रणमा उल्लेख सफलता मिलेकाले पनि प्राधिकरणको खूद मुनाफा बढेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “दक्षिण एसियाली मुलुकमा करीब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ, हामी करीब त्यस मापदण्डमा टेक्ने अवस्थामा पुगेका छौँ । चुहावट घटाउन सक्ने अवस्थामा छौँ, चुहावट रोक्न प्राविधिक सुधार गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ ।” उहाँका अनुसार, प्राधिकरणले सरकारको ढुकुटीमा रु. १५ अर्ब ५९ करोड दाखिला गरेको छ । विद्युतको पहुँच पनि विस्तार गर्दै लगेको छ । पछिल्लो समयमा उत्पादन, प्रसारण र वितरणमा केन्द्रित भएको प्राधिकरणले विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ ।
गत वर्षसम्म राष्ट्रिय प्रसारणमा आबद्ध भई विद्युत उपभोग गर्ने जनसङ्ख्या करीब ७८ प्रतिशत पुगेको र यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी भएको प्राधिकरणले जनाएको छ हो । प्राधिकरणका अनुसार, हाल ४५ लाख घरधुरी ग्रीडमा जोडिएका छन् ।
कार्यकारी निर्देशक घिसिङले कूल विद्युत उत्पादनमध्ये प्राधिकरणको उत्पादन हिस्सा ३४ प्रतिशत, निजीक्षेत्रको २९ र आयात ३७ प्रतिशत रहेको उल्लेख गर्दै गत आर्थिक वर्षमा कूल सात अर्ब ५५ करोड युनिट विद्युत् उपलब्धतामध्ये प्राधिकरणको करीब दुई अर्ब ५५ करोड युनिट, निजी उत्पादकको दुई अर्ब १९ करोड र आयात दुई अर्ब ८१ करोड युनिट रहेको जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा केही परिमाणमा विद्युत् आयात गरिएको भए पनि आगामी आर्थिक वर्षदेखि विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुग्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा प्राधिकरणले निजी उत्पादकबाट रु. १४ अर्ब १३ करोडको बिजुली खरीद गरेको र २३ अर्ब तीन करोडको विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ । त्यस अवधिमा प्राधिकरणले रु. ३२ करोडको बिजुली निर्यातसमेत गरेको थियो । गत आर्थिक वर्षमा ७५७ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई ६०६ किलोमिटर सर्किट सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युतीय उपकरणको प्रयोग बढाउनुका साथै विद्युतीय सवारी साधनको प्रयोगमा समेत सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । विद्युतीय सवारी साधनलाई लक्षित गर्दै चार्जिङ स्टेशन सञ्चालनसम्बन्धी कार्यविधि एक÷दुई दिनभित्रै टुङ्गो लगाइने उहाँको भनाइ थियो ।
मन्त्री पुनले एक हजार मेगावाट देशभित्रै खपतको वातावरण बनाउन सरकार केन्द्रित भएको जानकारी दिनुभयो । नेपालमा खपत भएर बढी भएको बिजुली छिमेकी मुलुकमा बिक्री गर्ने आधार तयार भइसकेको उल्लेख गर्दै मन्त्री पुनले नेपाल, भारत र बङ्गलादेश जोड्ने गरी त्रिदेशीय डेडिकेटेड लाइन निर्माण गरिने बताउनुभयो । रासस