हेटाैंडा– प्रदेश ५ सरकारले दाङको भालुवाङमा प्रदेश राजधानी बनाउने निर्णय गरेपछि रुपन्देहीका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । प्रदेश सभामा शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार नाम र राजधानीको प्रस्ताव पेश गरेका थिए । सरकारले राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयसँगै स्थानीयले विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलनकारीले ३ वटा सरकारी गाडी तोडफोड गरेका छन् । प्रदेश सभाका विभिन्न समितिका सभापतिहरूले प्रयोग गर्ने गाडी तोडफोड भएको प्रहरीले जनाएको छ । रुपन्देहीका विभिन्न स्थानीय तह, पाल्पा र गुल्मीका विभिन्न ठाउँमा पनि सरकारविरुद्ध प्रदर्शन भएका छन् ।