फाइल तस्विर

हेटाैंडा– नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न र मन्त्री बन्न रोक्नका लागि सर्वोच्च अदलालतमा परेको रिटमाथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ । गौतमको मुद्दामा आज सुनुवाइ भएपनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अब उक्त मुद्दामा आगामी बुधबार थप सुनुवाई हुने छ ।
गत असोज ४ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर रिट दायर भएको थियो । सरकारले प्रतिनिधि सभा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेसँगै रिट परेको थियो । अधिवक्ता बद्रीराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय बदर गर्न र मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले गौतममाथिको रिट हेर्दाहेर्दैमा राखेको थियो । यसअघि रिटमा सुनुवाई गर्दै यसअघि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिइसकेको छ ।