प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको जारी ७५ औं महासभालाई आज बेलुका सम्बोधन गर्नुहुने भएको छ । महासभालाई प्रधानमन्त्रीले अभिलेखित भिडियोमार्फत सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि, राष्ट्रसंघको ७५ औँ महासभा अन्र्तगतको गरिबी निवारण सम्बन्धी उच्चस्तरीय बैठकलाई भर्चुअल सम्बोधन गर्नुहुदै प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण गर्दै नागरिकको सहज जीवनयापनको विषय नै नेपालको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा गरिबीको दर पछिल्ला वर्षहरुमा कम हुदै गएको बताउनुभयो । उहाँले कोभिड–१९ को महामारीका कारण उत्पन्न परिस्थितिबाट पार पाउन तथा अर्थतन्त्रलाई पूर्ववत् फर्काउँदै द्रुत विकासको पथमा अग्रसर हुन उपलब्ध स्रोतसाधन पुनः छुट्याउन अपरिहार्य रहेको बताउनुभयो । इमानदार राष्ट्रिय प्रयास र बृहत् विश्वव्यापी विकास सहायता तथा समर्पित सहयोगी कदमबाट नै अहिलेको महामारीलाई पराजित गर्न सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
नेपालमा सरकारले “कोही भोको पर्दैन, कोही भोको मर्दैन” भन्ने नारा र लक्ष्य लिएर सामाजिक सुरक्षालाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।अफगानिस्तान, चिली, कोष्टारिका र होण्डुरसका राष्ट्रपति, इक्वेडरका उपराष्ट्रपति तथा पाकिस्तानका प्रधानमन्त्री लगायत नेताहरुले बैठकलाई सम्बोधन गर्नुभएको राष्ट्रसङ्घका लागि न्युयोर्क स्थित स्थायी नेपाली नियोगले जनाएको छ ।