स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ आज आठौँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । राष्ट्रिय विज्ञान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुहुँदै ज्ञान र प्रविधिकोमा आधारित रहेर मात्र तीव्र रूपमा दिगो विकास सम्भव हुने बताउनुभयो ।
उहाँले दिगो विकासका लागि वैज्ञानिक प्राविधिक एवं नव प्रतिभाहरूले आफ्नो आविष्कार वैज्ञानिक अनुसन्धान र प्राविधिक प्रतिभाको प्रवर्द्धन हुनुपर्नेमा जोड दिनुभयो । नेपाल समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आंकाक्षाको पूर्णताका लागि सबै क्षेत्रका वैज्ञानिक अनुसन्धानदाता र प्राविधिक क्षेत्रका प्रतिभाहरूलाई देश निर्माणको महा–अभियानमा सहभागी हुन पनि प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो ।