हेटाैंडा–नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसंगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार चार सय ४६ पुगेको प्राध्यापक डाक्टर गौतम जानकारी दिनुभयो ।
यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।