नेपाल राष्ट्र बैंकले घर कर्जा लिने र गाडी खरिदका लागि कर्जा लिनेलाई राहत दिएको छ । राष्ट्र बैंकले घर र गाडी कर्जाको ब्याज कर्जा अवधीभर परिवर्तन गर्न नपाउने व्यवस्था गरेकाले घर र गाडी कर्जा लिने ग्राहकले राहत पाएका हुन् ।
राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशिका जारी गर्दै यस्तो कर्जाको ब्याज कर्जा अवधिभर फिक्स गर्न भनेको छ । अब गाडी तथा घर कर्जाको ब्याजमा परिवर्तन गर्न नपाउने भएपछि ऋण लिँदा तय भएको कर्जाको ब्याजदरमै ऋणीले कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले व्यक्तिगत कर्जामा नयाँ व्यवस्था गर्दै कर्जाको ब्याज परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । बैंकहरुले बेसरेट परिवर्तन भएसँगै ब्याजदर घटबढ गर्दा व्यक्तिगत प्रयोजनका लागि कर्जा लिने ऋणीहरू समस्यामा परेको निष्कर्श निकाल्दै राष्ट्र बैंकले कर्जा अवधिभर निश्चित ब्याजदर कायम गर्न निर्देशन दिएका हो ।
बैंक तथा वित्तीय संस्थाले कर्जा, निक्षेपको ब्याजदर, आधार दर र ब्याजदर अन्तरको विगत ३ वर्ष अवधिको विवरण वेवसाइटमा प्रकाशन गर्नुपर्ने छ । सुरक्षित धितो लिएर सामुहिक तथा व्यक्तिगत आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रदान गर्दै आएको कर्जाको सीमा बढाएर ७ लाख रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो कर्जाको सीमा ४ लाख रुपैयाँ मात्र थियो । बैंक तथा वित्तिय सस्थाको २ प्रतिशत वा त्यसभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेरधनीले राष्ट्र बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न सक्ने छन । यसअघि यो ब्यवस्था थिएन । साथै राष्ट्र बैंकले संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण अब गर्न पाइने छैन । तर ०।५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भइ कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न पाउने छन् ।