हेटौंडाः मकवानपुरका १० स्थानीय तहकालागि करारमा नियुक्त गर्ने भनिएको कानुनि सहजकर्ताकालागि ३ सय ४८ जनाले आवेदन दिएका छन् । बिहीबार अन्तिम दिन सम्म जिल्लाका १० पालिकाका लागि ३ सय ४८ जनाले आवेदन दिएका हुन ।
३ नम्बर प्रदेश सरकारले प्रदेशका १ सय १६ स्थानिय तहमा न्यायिक समितिलाई काम गर्न सहज होस भन्ने उदेश्यका साथ करारमा कानुनी सहजकर्ता नियुक्त गर्नलागेको छ । प्रदेश सरकारले कार्यविधि बनाएर जिल्ला समन्वय समितिलाई जिम्मा दिएर हरेक जिल्लाका स्थानिय तहमा कानुनि सहजकर्ता नियुक्त गर्न लागेको हो । जस मध्ये मकवानपुरका १० स्थानिय तहकालागि ३ सय ४८ जनाले आवेदन दिएको जिल्ला समन्वय समिति मकवानपुरका अधिकृत भीम मर्हजनले जानकारी दिनुभएको छ ।
जिल्लामा सबै भन्दा बढी हेटौंडा उपमहानगरपालिकामा आवेदन परेको उहाँले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकामा १ सय ३० जनाले आवेदन दिएका छन् । त्यस्तै थाहा नगरपालिकाकालागि १३ जना, भीमफेदी गाउँपालिकाकालागि ३२ जना, ईन्द्रसरोवर गाउँपालिकाकालागि सबै भन्दा कम ९ जना र कैलास गाउँपालिकाका लागि १० जनाले आवेदन दिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै मनहरी गाउँपालिकाकालागि ४४ जना, राक्सिराङ गाउँपालिकाकालागि १७ जना, मकवानपुरगढी गाउँपालिकाकालागि ३८ जना, बकैया गाउँपालिकाका लागि ३६ जना र बागमति गाउँपालिकाकालागि १९ जनाले आवेदन दिएको उहाँले जानकारी दिनुभयो । आवेदन दिएका मध्ये हरेक स्थानिय तहकालागि १ जनाका दरले अन्तरबार्ताका माध्यमबाट छनोट गरेर न्यायिक समितिलाई सहजकर्ता पठाईने उहाँले बताउनुभयो । सहजकर्ताले न्यायिक समितिमा रहेर काम गर्नुपर्ने तथा त्यसको तलब सुबिधाको व्यवस्था भने प्रदेश सरकारले व्योहोर्ने उहाँले जानकारी दिनुभएको छ । आवेदन दिएकाहरुलाई सम्पर्क मिति दिईएको साथै सुचना मार्फत उनिहरुलाई अन्तरबार्तामा सहभागि गराईने मर्हजनले जानकारी दिनुभएको छ ।