पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डकमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा १५ दिनदेखि उपचाररत ७५ वर्षीय एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा. अतुलेश चौरसियाका अनुसार पर्साको पकाहामैनपुर गाँउलपालिका वडा नम्बर २ का ७५ वर्षीय सङ्क्रमित पुरुषको शुक्रबार राति साढे ११ बजे गण्डकमा रहेको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

क्षयरोगका पुरानो रोगीसमेत रहेका उपचारको क्रममा मृत्यु भएका ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ५ गते अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उपचारका क्रममा मृत्यु भएका मृतक पुरुषको दुवै फोक्सोमा निमोनिया भएको थियो । पछिल्लो यो मृत्युसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।