हेटाैंडा– बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा ६ सय २० घर निर्माण सम्पन्न भएको जनाएको छ । कार्यक्रमअन्तर्गत काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा जम्मा दुई हजार २ सय ४६ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो ।

सरकारले चितवनमा ७६६, मकवानपुरमा ६५०, धादिङमा ३५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०–५० घर निर्माण गर्ने योजनाअनुसार अघिल्लो आर्थिक वर्षमा ६२० घर निर्माण सम्पन्न गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले यसबाहेक एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत अति सीमान्तकृत जाति समुदाय माझी, मुसहर तथा चेपाङ जातिका लागि एकीकृत बस्ती विकास गरिने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुुभयो ।