मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा थप एकसय देखि एकसय बीस बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएको अवस्थामा हेटौंडा–११ स्थित हेटौंडा एकेडेमीमा आइसोलेसन सञ्चालनको तयारी गरिएको हो ।

आईसोलेसन सञ्चालनका लागि बिहीबार उक्त स्थानको निरिक्षण गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिव अनुप पौडेल, स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायलगायतले निरिक्षण गर्नुभएको हो ।

उक्त स्थानमा बागमती प्रदेश सरकारले नै आइसोलेसन सञ्चालन गर्न लागेको हो । हेटौंडा एकेडेमीको दुईवटा छात्रबासमा गरि करीब एक सय देखि एक सय बीस जना सम्म अटाउने आइसोलेसन सञ्चालन गर्न लागिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बताउनुभयो । सोहि क्रममा उहाँहरुले हेटौंडामा सञ्चालित आइसोलेसनको व्यवस्थापनका विषयमा समेत छलफल गर्नुभएको छ । आइसोलेसनको सबै व्यवस्थापन अस्पताल मार्फत हुने तर अस्पताललाई सबैले सहयोग गर्ने विषयमा छलफल भएको छ । छलफलबाट आइसोलेसनको व्यवस्थापनमा जिम्मेवारीका साथ लाग्न सम्बद्ध सबै पक्षलाई सुझाव समेत दिईएको छ ।