हेटौंडा– लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित अगाडि सारिएको उक्त सुरुङमार्गको निर्माणका लागि सहलगानीको ढाँचा तय गर्न समिति निर्माण गरी काम अगाडि बढाइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गौरव आयोजनाका रूपमा रहेको काठमाडौँ–हेटौंडा सुरुङमार्गको निर्माण सहलगानीमा गर्न सङ्घीय सरकार र प्रदेश सरकारबीच सहमति भएको जानकारी दिनुभयो । “सुरुङमार्ग निर्माणका लागि केन्द्र र प्रदेश सरकारको सहमति छ,” उहाँले भन्नुभयो , “सङ्घीय सरकारले नै लगानी गर्ने भइसकेपछि उक्त सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्नमा अब कुनै द्विविधा रहेन ।” बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत उक्त सुरुङमार्गको निर्माण कार्य सङ्घीय सरकारको सहलगानीमा अगाडि बढाउने उल्लेख गरेको छ । रणनीतिक महत्वको सो आयोजनालाई अगाडि बढाउन सङ्घ र प्रदेशबीच हुने सहलगानीको ढाँचा तय गर्न सङ्घीय सरकार र प्रदेश सरकारका पदाधिकारी सम्मिलित एक समिति गठन गरी कामसमेत अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।