फाइल तस्विर

आज थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना भाइरसको संक्रमणका कारण आज एकै दिन थप ७ जनाको मृत्यु भएको छ यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण पछि मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा १/१ जना पुरुष र तनहुँमा १ जना महिला गरी ७ जनाको मृत्यु भएको जनाकारी दिनुभयो ।

आज काठमाडौँमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ गरी काठमाडौँ उपत्यकामा थप २ सय ५ सहित १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल सख्या २८ हजार २ सय ५७ पुगेको प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो । उपचारपछि निको भई घर फर्कने ६२.२ प्रतिशत रहेको र आज थप ८५ जना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण पछि निको हुनेको कुल संख्या १७ हजार ५ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिहरूको अन्त्येष्टि, शव व्यवस्थापन कार्यविधिमा उल्लेख भए अनुसार सुरक्षाका मापदण्ड पालना गरी आफ्नो परम्परा अनुसार गर्न सकिने प्रवक्ता प्रा.डा गौतमले बताउनुभयो । प्रवक्ता प्रा. डा. गौतमले सामाजिक सद्भाव कायम गर्दै मृत्यु जस्तो संवेदनशील विषयलाई मिडिया वाजी नगर्न आग्रह गर्नुभयो । आफन्त, नातेदार र छिमेकीले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरूको अन्त्येष्टि गर्न नमानेपछि सरकारले मापदण्ड अनुसार शवको व्यवस्थापन गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वमा गरिएको अनुसन्धानले होम आइसोलेसनमा बस्ने बिरामीहरू छिटो ठिक हुने गरेको र मृत्युदर समेत कम रहेको पाइएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो । साथै मन्त्रालयले ATM बाट पैसा निकालेपछि सेनिटाइजर प्रयोग गर्न र ATM लाई समय समयमा डिसइन्फेक्सन गर्न बैकहरूलाई अनुरोध समेत गरेको छ ।