मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ९ का जनप्रतिनिधिहरु कोरोना संक्रमितलाई हौसला बढाउँदै चेतना फैलाउन सक्रिय रुपमा लाग्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर होम क्वारेन्टाईनमा बसेका तथा कोराना संक्रमण पुष्टि भएर होम आइसोलेसन तथा होम क्वारन्टाईमा बसेका वडा भित्रका नागरिकको हौसला बढाउन उहाँहरुले आज उनिहरुसंग सावधानी पुर्वक भेटघाट समेत गर्नुभएको हो ।

शनिबार बिहान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीलगाएत जनप्रतिनिधिहरुले स्वास्थ्यकर्मी सहित कोरोना संक्रमित, संक्रमितको परिवार एबम सम्पर्कका अधारमा होम आइसोलेसन तथा क्वारेन्टाईनमा सुख दुख साट्न पुग्नुभएको हो । साथै उहाँहरुले वडाका सम्पुर्ण टोल विकास संस्थाका अध्यक्ष लगायत टोलका अगुवाहरुलाई भेटेर जनचेतना फैलाउने, सावधानी अपनाउने कुरामा लाग्न आग्रह गर्नुभयो । सो क्रममा उहाँहरुले वडा भित्रका विभिन्न आयोजनाहरुको साबधानीका अनुगमन समेत गर्नुभएको थियो ।

भेटघाटका क्रममा जिल्ला समन्वय समितिका प्रमुख खुलालले हौसलाका साथ कोरोना जित्न सकिने हुनाले हौसला कायम राख्न संक्रमित व्यक्तिलाई आग्रह गर्नुभयो । साथै उहाँले संक्रमणको जोखिम सबैलाई रहेकाले सतर्क र सचेत हुन वडाबासीमा आग्रह गर्नुभयो । यदि कसैलाई संक्रमण भइहाले पनि नडराउनुहोला, उहाँले भन्नुभयो “आत्तिनु पर्दैन, संक्रमणबाट निको हुन सकिने रहेछ । जसरी पनि कोरोनालाई जित्नुपर्छ भनेर अठोट गर्नुस्, कोराना जितिन्छ ।”

संक्रमित भएर आइसोलेसनमा बसिरहँदा आफ्नो दैनिकी नयाँ बनाउन आग्रह गर्दै कोरोना र संक्रमणबाट आफ्नो ध्यान मोड्न योग, प्राणायाम जस्ता कार्य गर्न समेत आग्रह गर्नुभयो । उहाँले अदुवा, मरिच, लसुनजस्ता पदार्थको झोल तथा अन्य झोलीलो पदार्थ खान समेत सुझाव दिनुभएको छ । प्रमुख खुलालले कोरोनाको भय र चिन्तालाई मोड्न किताब पढ्ने, सिनेमा हेर्ने, साथीभाइ र परिवारसँग फोनमा कुरा गर्ने साथै आइसोलेसनमा बसेको समयमा डाक्टरसँग नियमित सम्पर्कमै रहन आग्रह गर्नुभयो । उहाँले हरेक जनप्रतिनिधि, टोल विकास संस्थालगायत टोलका अगुवाहरुले आफ्नो क्षेत्रका कोरोना संक्रमितलाई फोन गरेर हौसला बढाउन मद्दत गर्न समेत आग्रह गर्नुभयो ।

प्रमुख खुलालले कोरोना लागेका व्यक्तिलाई हेप्ने, हेला गर्ने, दुव्र्यवहार गर्ने जस्ता कार्य नगर्न आग्रह गर्दै, कोरोनालाई बलीयो इच्छाशक्ति र आत्मबलले हराउन सकिने हुनाले आत्मबल बढ्ने खाले कृयाकलाप गर्न आग्रह गर्नुभयो । साथै उहाँले खानपिन रहनसहन र सोच परिवर्तन गरेर रोगप्रतिरोधी क्षमता बढाउन सक्दा कोरोनालाई जित्न गाह्रो नरहको बताउनुभयो । उहाँले संक्रमण देखिँदैमा डराउनु नपर्ने, तर पर्याप्त सावधानी भने अपनाउन आग्रह गर्नुभयो । उहाँले कोरोना संक्रमितको मनोबल उच्च बनाउन जनप्रतिनिधिहरुले कम्तीमा संक्रमितलाई फोनमै भएपनि कुरा गरिदिएमा हौसला बढ्ने र कोरोना जित्न सहयोग मिल्ने हुनाले त्यसो गर्न सुझाव दिँदै संक्रमितको मनोबल कमजोर बनाउने काम कसैबाट हुन नहुने उहाँको भनाई थियो । प्रमुख खुलालले घरबाहिर सके सम्म ननिस्कन यदि निस्कनै परेमा अनिवार्य रुपमा मास्क, पन्जा, स्यानिटाइजर प्रयोग गर्न साथै अनिवार्य दुई मिटरको भौतिक दूरी कायम गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।