फाइल तस्विर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रका सम्पूर्ण अस्पताललाई कोरोना कम्तीमा २० प्रतिशत बेड भाइरसका संक्रमितको उपचारका लागि छुट्याउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि छुट्याईएका हव अस्पतालमा बेड अभाव हुन थालेको बताउनुहुँदै निजी क्षेत्रका अस्पताललाई कम्तिमा २० प्रतिशत बेड सुरक्षित राख्न अनुरोध गर्नुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले निजी अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको उपचारका लागि हव अस्पतालहरूले आवश्यक समन्वय गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले काठमाडौ उपत्यका भित्रका अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति विना अन्यत्र रिफर नगर्न समेत आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

यसैगरी आज थप २ सय ४० जना संक्रमण मुक्त भएपछि हाल सम्म १७ हजार ७७ जना संक्रमण मुक्त भएका छन् भने आज थप ४ जनाको मृत्यु भएपछि कोरोना भाइरस संक्रमण पछि मृत्यु हुनेको संख्या ९९ पुगेको छ । कोरोना संक्रमण पछि मृत्यु हुनेमा आज मोरङ र सिराहाका  १–१ जना तथा बाराका २  जना थपिएका छन् । हाल सम्म ७७ जना पुरूष र २२ जना महिलाको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।