हेटौंडाः हेटौंडाको गौरिटार रंगशालाको पुरुष छात्राबासमा बन्दै गरेको आइसोलसन वार्ड आज साँझबाट सञ्चालनमा ल्याउने तयारी गरिदै छ । हेटौंडा अस्पतालले निर्माण गर्दै गरेको उक्त आइसोलेसन वार्डमा ८० बेड हुने हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठले बताउनुभयो । आजैदेखि सञ्चालनमा ल्याउने गरी तयारी भैरहेको उहाँको भनाइ छ । नेपाली सेना, प्रहरी लगायतले पनि सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

हेटौंडा अस्पतालले सञ्चालन गरेको हेटौंडा–४ कर्रास्थित श्रमिक माविको आइसोलेसन वार्डमा बेड भरिपछि कोरोना संक्रमितहरु घरमै बस्दै आएका छन् । अहिले कर्राको आइसोलेसन वार्डमा ४० जना कोरोना संक्रमितहरु बसेका छन् । हेटौंडा अस्पतालले हालको लागि गौरिटार र कर्रा दुवै स्थानमा आइसोलेसन वार्ड सञ्चालन गर्ने भएको हो । आज बिहान मात्रै मकवानपुरका ३५ जनामा कोरोना पुष्टि भएको छ । अझै धेरै नमूनाको कोरोनाको रिपोर्ट आउन बाँकी छ । आज साँझ देखि गौरिटारको आइसोलेसन वार्ड सञ्चालनमा आएमा बिहान पोजेटिभ आएका सबै र होम आइसोलेसनमा बसेकाहरुलाई त्यहाँ राखिने भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रविण श्रेष्ठले बताउनुभयो । हेटौंडा अस्पतालले अहिले गौरिटारको आइसोलेसन वार्डको प्रमुखको जिम्वेवारी डा. सागर काफ्लेलाई दिएको छ ।