फाइल तस्विर

समयमै सावधानी अपनाउन नसके अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुनसक्ने मन्त्रालयको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौ उपत्यकाका सम्पूर्ण सरकारी तथा गैह्र सरकारी संघ–संस्थाहरूलाई कुनै पनि बैठक, गोष्ठी तथा जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । काठमाडौ उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक रूपमा बढ्न थालेपछि मन्त्रालयले कार्यालयमा हुने कुनैपनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले समयमै सावधानी अपनाएर संक्रमण नियन्त्रण गर्न नसके उपचारका लागि अस्पतालको बेड तथा अन्य उपकरणको अभाव हुनसक्ने चेतावनी समेत दिनुभयो । प्रवक्ता प्रा.डा. गौतमले भारतीय सीमा क्षेत्रका जिल्लाहरूमा संक्रमणको दर उच्च रहेको हुनाले स्थानीयपालिका तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन समेत अनुरोध गर्नुभयो ।

कोरोना भाइरसबाट आज थप ३ सय ६० जना संक्रमित भएपछि कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले आज ६ हजार ६ सय २२ वटा नमूना परीक्षण गर्दा काठमाडौ उपत्यकामा ८७ जना सहित थप ३ सय ६० जना संक्रमित भएको जानकारी दिनुभयो । यसैगरी आज २ सय ३३ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । आज विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा ६ हजार २ सय ९६ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

यसैगरी आज थप ५ जनाको मृत्यु भएपछि कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज मोरङ्ग रंगेलीका ४५ वर्षीय पुरूष, विराटनगरका ४५ वर्षीय पुरूष, सर्लाहीकी ६५ वर्षीय महिला, धनुषाकी ७२ वर्षीय महिला र सप्तरीका ४२ वर्षीय पुरूषको कोरोना भाइरस संक्रमण पछि मृत्यु भएको छ ।