मकवानपुर– नेकपा मकवानपुरकी “आमा” भनेर चिनिनुहुने मकवानपुरे कम्युनिष्ट आन्दोलनकी नेतृ बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकका रुपमा रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेतृ थापालाको ७६ वर्षको उमेरमा गएराती मृत्यु भएको हो ।
हेटौंडा उपमहानगरपालिका–१७ राजदेवि स्थित आफ्नै निवासमा बिगत लामो समय देखि मुटु रोगबाट ग्रसित थापालाई गएराती थप समस्या आएपछि अस्पताल ल्याइएको थियो । उहाँको अस्पतालमा नै निधन भएको हो । मकवानपुरे कम्युनिष्ट आन्दोलनकी धरोहर थापालाई हेटौंडा अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेको नेकपा मकवानपुरका नेता एवम् जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । विगत १५ वर्ष देखि मुटुरोगका कारण थलिनुभएकी नेतृ थापा मुटुलगायत अन्य रोगले समेत ग्रसित हुनुहुन्थ्यो । ५० वर्ष अगाडि देखि विभीन्न कम्युनिष्ट आन्दोलनमा सरिक हुनुभएकी थापा दम, मुटु रोगलगायत रोगका कारण ग्रस्थ हुनुहुन्थ्यो । उहाँलाई मकवानपुरे कम्युनिष्ट आन्दोलनकी आमा भनेर सवैले चिन्ने गर्दछन् ।
तत्कालिन नेकपा माले पार्टीका नेता भुमिगत हुँदा उहाँको घरमा लुकेर वसेका थिए । हालका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी, नेता जिवराज आश्रीत, विद्यादेवि भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायतका नेतालाई आश्रय दिनु उहाँलाई कम्युनिष्ट आन्दोलनकी “आमा”को रुपमा चिन्दछन । उहाँलाई कम्युनिष्टकी सेल्टरदाताका रुपमा समेत चिन्ने गर्दछन् । थापाको सम्झनामा नेकपा मकवानपुरले आज बिहान उहाँको पार्थिव शरिरमा श्रद्धञ्जली दिने कार्यक्रम आयोजना गरेको छ । उहाँका तीन छोरा छन् । उहाँको आजै अन्त्यष्टि गरिने बताईएको छ ।