हेटौंडाः मकवानपुरको विकट राक्सिराङ्ग गाउँपलिकामा रहेको जलपरी झरनाको संरक्षणमा गाउँपालिकाले तदारुक्ता देखाएको छ । लामो समय सम्म संरक्षणको अभावमा मासीने अवस्थामा पुगेको झरनाको संरक्षणमा अहिले गाउँपालिका लागेको हो ।
राक्सिराङ गाउँपालिका–३ गलमटे केराबारी स्थित उक्त झरनाको संरक्षण गरेर पर्यटन पूर्वद्धन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले बताउनुभएको छ । अत्यन्त मनमोहक उक्त झरनालाई पर्यटकीय स्थलको रुपमा विकास गरेर आर्थिक तथा पर्यटन प्रबद्धन गर्ने योजना रहेको उहाँले बताउनुभयो । जलपरी झरनाको संरक्षण र प्रवद्धन गरि पर्यटनलाइ टेवा पुर्याउन डिपीआर समेत तयार भईसकेको र सोहि अनुसार त्यसको थप निर्माण कार्य अगाडी बढ्ने उहाँले बताउनुभयो ।
त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट उक्त झरना सम्म जाने बाटो, सवारी पार्किङ स्थल, सार्वजनिक शौचालय, खानेपानी, काठे पुल, फलामे बार र सिढी निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको अध्यक्ष मल्लले बताउनुभएको छ । चालु आर्थिक वर्षमा डिपीआर सहित झरनाको व्यवस्थापन तथा बाँकी काम सम्मपन्न गरेर राक्सिराङमा एउटा नमुना पर्यटकिय स्थलका रुपमा विकास हुने उहाँले बताउनुभयो ।