मकवानपुर– मकवानपुरमा वन क्षेत्रको जग्गा अतिक्रमण साथै वन्यजन्तु तथा बासस्थान संरक्षणका विषयमा बिहीबार सरोकारवाला बिच छलफल भएको छ । डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा सरकारी वन क्षेत्र अतिक्रमणको अवस्था तथा आगामी रणनीतिका विषयमा छलफल भएको छ । डिभिजन वन कार्यालयले सरोकारवाला निकायहरु बिच समन्वय स्थापित गर्न र ऐन, कानुनले निर्देशित कार्य सञ्चालन गर्न सहमती जुटाउने उदेश्यका साथ छलफल आयोजना गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी वन क्षेत्र अवैध रुपले आवाद, जोत तथा घर छाप्रो वनाई बसोवास गरी जग्गा हडप्ने क्रियाकलाप बढेकाले त्यसको नियन्त्रण साथै वन अतिक्रमण रोक्ने विषयमा छलफल भएको छ । मकवानपुरमा विशेष गरि चुरे क्षेत्र आसपासका क्षेत्रहरु प्रभावित भएको बताईएको छ । जिल्लाका विभिन्न स्थानिय तहहरुमा गरेर करीब ६९० हेक्टर वन क्षेत्र अतिक्रमण भएको बताईएको छ । आजको बैठकमा विशेष गरि हेटौंडा–१५ मा भएको अतिक्रमणका विषयमा छलफल भएको थियो ।


बिहीबारकाे छलफलले वन क्षेत्रको जग्गा र आवादी जग्गाको सिमाना छुट्याउने निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ स्थित वन क्षेत्र र सो आसपासमा रहेका आवादी बिच सीमा स्पष्ट पार्ने निर्णय गरेको छ । बैठकले नापी कार्यालयबाट नापीका प्राविधिक टोलीले वन क्षेत्र र आवादी क्षेत्रको सिमाना छुट्याउन सम्बन्धित वडाका वडा अध्यक्षले सहजीकरण गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख ईमनाथ पौडेलले जानकारी दिनुभयो । छलफलमा जिल्ला समन्व्य समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उप मेयर मिनाकुमारी लामा, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, १५ नम्बर वडा अध्यक्ष माहा रत्न लामा, ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, प्रमुख नापी अधिकृत पुर्णहरि सुवेदी, प्रहरी उपरिक्षक शुसिल सिंह राठौर, शसस्त्र प्रहरी उपरिक्षक विकास घिमिरे, राष्ट्रिय अनुसंधान कार्यालयका उपनिर्देशक लिलाधर पौडेललगायत सरोकारवालाहरुको सहभागिता थियो ।