असार २ गते घरकै भान्सा कोठामा मृत भेटिएकी हेटौंडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोककी सुस्मिता थापाको हत्यामा ससुरा र नन्दको संलग्नता देखिएको छ । एकसाता लामो अनुसन्धानपछि हत्यामा सुस्मिताका ससुरा प्रकाश थापा र नन्द सीताको संलग्नता पुष्टि हुने आधार भेटिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले जानकारी दिनुभयाे ।
त्यस दिन खाना खाने समयमा विवाद भएको र भान्सा कोठामै लोहोराले हानेर सुस्मिताको हत्या भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । घटनाको क्रममा सासुले रोक्न खोजे पनि नन्द र ससुराले विभत्स ढंगबाट हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी राठौरले बताउनुभयाे । सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि परिवारमा विवाद भएपछि सुस्मिता माइत बस्दै आएकी थिइन् । तर श्रीमानको मृत्युको ६ महिना पुगेको अवसरमा गर्नुपर्ने साँस्कारकाे कामका लागि उनी घर फर्किएकी थिइन् । लगत्तै लकडाउन भएकाले माइत फर्किन नपाएइको देखिएको एसपी राठौरले बताउनुभयाे ।
हत्यामा परिवारकै सदस्य संलग्न भएको पुष्टि हुने आधार देखिए पनि घरबाहिरका पनि कोही संलग्न हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान प्रक्रियालाई फराकिलो पारेको छ । सुस्मिताका ससुरा र नन्दलाई प्रहरीले हिरासतमा राखी ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ । सुस्मिताको टाउकोको पछिल्लो भागमा गहिरोे चोट लागेको, आँखासमेत फुटेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । उनको घाँटी र अन्य भागमा समेत चोट देखिएको प्रहरीले जनाएको छ । सुस्मिताको शव भान्छाकोठामै भित्रबाट चुकुल लगाएको अवस्थामा रहेको थियो । अनलाइन खवरबाट साभार ।