मकवानपुर– हेटौंडा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुको मंगलबार अनुगमन गरिएको छ । जिसस मकवानपुरका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको टोलीले मंगलबार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको अनुगमन गर्नुका साथै उद्योगहरुको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा औद्यागिक क्षेत्रमा हाल सञ्चालित उद्योगहरुमा स्वास्थ्य सम्बन्धी मापदण्ड अनुसार सञ्चालन भए, नभएको, सुरक्षाका उपायहरु अपनाए, नअपनाएको कच्चा पदार्थको उपलब्धतालगायत लकडाउन पुर्व र हालको अवस्थाका बारेमा जानकारी लिनुका साथै उद्योगिहरुलाई परेका अप्ठ्याराका बारेमा जानकारी लिनुभएको थियो । उहाँहरुले औद्योगिक क्षेत्रमा रहेको एसीयन पेन्ट्स, एन्टाटीक बिस्कुट, सीएसआइ नेपाल, महाशक्ति शोप, एम एम पोलिमरलगायत उद्योगमा अनुगमन गर्नुभएको थियो । सो क्रममा उद्योगिहरुले कच्चा पदार्थ तथा कर्मचारीको समस्याका कारण तीन सिफ्टमा संचालन भएका उद्योगहरु अहिले एक वा बढीमा दुई सिफ्ट सम्म मात्र सञ्चालन भएको बताएका थिए ।

अनुगमनका क्रममा जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सुरक्षित भएर स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर मात्र उद्योगहरु सञ्चालन गर्न सुझाव दिनुभयो । अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कट्वाल, सशस्त्र प्रहरी बल १४ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक विकास घिमिरे, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेललगायतको सहभागिता थियो ।