हेटौंडा– कलाकार तथा पत्रकार देव लामालाई बचाउन मकवानपुरका कला क्षेत्रमा क्रियाशील व्यक्तिहरु लाग्नुभएको छ । हेटौंडा–८, कमाने घर भई हाल काठमाडौं बस्दै आउनुभएका कलाकार तथा पत्रकार लामालाई बचाउन मकवानपुरका कृयाशिल व्यक्तित्वहरु आर्थिक सहयोग संकलनमा लाग्नुभएको छ ।
नशा सम्बन्धी समस्याका कारण एक वर्षदेखि उपचाररत लामाका लागि मकवानपुरका कला क्षेत्रमा कृयाशिल व्यक्तिहरुले विभिन्न व्यक्तिमार्फत १ लाख ७ हजार ४८ रुपैयाँ सहयोग संकलन गर्नुभएको छ । केहीदिन अघि कलाकार, पत्रकार लामाको बारेमा थाहा पाएपछि हेटौंडाका आशाकाजी श्रेष्ठ, प्रलय चौलागाई, सुवास गहतराज, भेष खड्गी, उज्ज्वल शर्मा भण्डारी लगायतका व्यक्तिहरुले सहयोग संकलन अभियान सञ्चालन गर्नुभएको थियो । सहयोग संकलन सुरु गरेको एक साताको अवधिमा उहाँहरुले पाँच सय रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म स्वेच्छिक सहयोग संकलन गर्नुभएको जानकारी दिनुभयो । सहयोग गर्नेमा कलाकारकै संख्या बढी रहेको र सो सहयोग रकम देव लामाको परिवारलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
हेटौंडामा रहँदा प्रभातकालिन दैनिकमा काम गर्नुभएका लामा पछिल्लो समय कलाकारिताको क्षेत्रमा क्रियाशील रहनुभएको आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा देव लामा थला परेका छन् भन्ने थाहा पाएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षअघि लडेर घाइते हुनुभएका लामाको काठमाडौंस्थित एक निजी अस्पतालमा उपचारको क्रममा त्रुटी भएर नशामा समस्या देखिएको थियो । एक वर्षदेखि थला परेका लामाको अवस्थाका बारेमा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उपचारमा त्रुटी गर्ने अस्पतालले लामाको उपचार गरिदिने भएको भन्ने जानकारी प्राप्त भएको कलाकार श्रेष्ठले जानकारी दिनुभयो ।