हेटौडा– मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाको प्रशासनिक भवन आगलागी हुनुको कारण सत्यतथ्य पत्ता लगाउनका लागि छानबिन समिति गठन गरेको छ । गाउँपालिकाको शुक्रबार बसेको बैठकले गाउँपालिका उपाध्यक्ष शुकुमाया थिङको संयोजकत्वमा ७ सदस्सीय छानबिन समिति गठन गरेको हाे ।
समितिमा गाउँपालिकाभित्र रहेका विभिन्न सरकारी निकायका प्रमुख र पत्रकार महासंघका प्रतिनिधि रहेका छन् । समितिलाई १० दिनभित्रमा प्रतिवेदन बुझाउनुपर्ने समयावधि तोकिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताउनुभयाे । जिल्लाको विकट कैलाश गाउँपालिका—३ कालिकाटारमा रहेको गाउँपालिका भवन बिहीबार जलेर नष्ट भएको थियो । गाउँपालिकाको कागजपत्र, स्टोरका सामान सबै जलेर खरानी हुनुको साथै भवन पनि पूर्ण रुपमा नष्ट भएको छ । ‘करिब ४ करोड क्षति भएको अनुमान गरेका छौं,’ गाउँपालिका अध्यक्ष मोक्तानले भन्नुभयाे ।
गाउँपालिकाको सौर्य ऊर्जा प्रणालीमा सर्ट भइ आगजनी भएको अनुमान गरिएको छ । गाउँपालिकाको न्यायिक समितिको बैठक चलिरहेको बेला सौर्य ऊर्जा प्रणालीमा सर्ट भई आगजनी भएको थियो । प्रशासनिक भवन जलेर नष्ट भएपछि बिहीबारदेखि स्थानीय भवानी माविको भवनवाट पालिकाले सेवालाई निरन्तरता दिने अध्यक्ष मोक्तानले बताउनुभयाे ।
इकान्तिपुर