मकवानपुर – नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता एवम् नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि बिष्ठले पत्रकारहरुको हकहितको लागि महासंघ लागिपरेको वताउनुभयो । निर्वाचनमा आचार संहिताको पूर्ण पालना गर्न पनि उहाँले पत्रकारहरुलाई आग्रह गर्नुभयो । साधारणसभामा अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन, सचिव शुभलक्ष्मी विकले प्रगति प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
महासंघले १७ औं वार्षिक साधारण सभाको अवसरमा लामो समयदेखि पत्रकारितामा क्रियाशित रहेका २ जना पत्रकारहरुलाई नगदसहित सम्मानित गरेको छ । साधारणसभामा पार्वतीमान बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कार २०७८ बाट महासंघका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्वाददाता राममणी दाहाल र न्युछेमान स्मृति कृयाशील पत्रकारिता पुरस्कार–२०७८ बाट राष्ट्रिय समाचार समिति मकवानपुरकी सम्वाददाता अञ्जली थापालाई पुरस्कृत गरिएको थियो । उहाँहरुलाई नगद ५ हजार ५५५ र प्रशंसापत्रद्धारा सम्मनित गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी सचिव सिजृना अर्याल, पत्रकार महासंघ केन्द्रीय सदस्य धुव्र रावल, सुनिल खडका, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।