हेटाैंडा, बैशाख २३ । इरानले अमेरिकासँगको वार्तामा ‘बृहत् सम्झौता’ चाहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा ठूलो प्रगति भएको दाबी गरेपछि इरानी विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सम्बन्धमा ‘निष्पक्ष र व्यापक सम्झौता’ मात्र स्वीकार गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
चिनियाँ समकक्षी वाङ यीसँगको भेटपछि अराघचीले इरानले वार्तामा आफ्ना वैध अधिकार र हितहरूको रक्षा गर्न सक्दो प्रयास गर्ने बताउनुभएको खबरमा उल्लेख छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा अलपत्र परेको जहाजहरूलाई गन्तव्यमा पठाउन सैन्य कारबाही रोक्ने प्रस्तावबारे इरानी विदेशमन्त्री अराघचीले कुनै प्रतिक्रिया दिनु भएन ।
सामाजिक सञ्जालको एक पोस्टमा ट्रम्पले इरानसँगको शान्ति सम्झौतालाई अन्तिम रूप दिन सकिन्छ कि सकिँदैन भनेर हेर्नका लागि थोरै समयका लागि सैन्य कारबाही रोक्ने उल्लेख गर्नुभएको छ । यद्दपि उहाँले इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताउनुभएको छ ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि द्वन्द्व शुरू भएयता हर्मुज जलमार्ग लगभग बन्द छ । हर्मुज अवरुद्ध हुँदा विश्वको झन्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति प्रभावित भएको छ र विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ ।











