हेटौँडा, २१ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र लुकाएको आशङ्कामा विभागले उहाँको निजी निवास र व्यावसायिक प्रतिष्ठानहरूमा एकैसाथ खानतलासी गरेको हाे ।
मुख्यमन्त्री बानियाँको हेटौँडा–५, पिप्लेस्थित घर र सानोपोखरा चोकमा रहेको कार्यालयमा विभागको सात सदस्यीय टोलीले अनुसन्धान गरेको थियो । सो क्रममा टोलीले महत्वपूर्ण कागजातहरूको जाँचबुझ गर्नुका साथै करिब दुई घण्टा समय बिताएको थियाे । छापा मार्ने कार्यलाई सुरक्षित बनाउन विभागले आइतबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेको थियो । सोही अनुसार प्रहरीले सादा पोसाकमा समेत जनशक्ति परिचालन गरेको थियो । विभागको टोलीले थप आवश्यक परेमा स्थानीय प्रशासनसँग समेत समन्वय गर्ने गरी तयारी गरेको बुझिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ ‘क’ वर्गका निर्माण व्यवसायी हुन् । उहाँकाे स्वामित्वमा ‘बानियाँ निर्माण सेवा’ (BNS) सञ्चालित छ । विभागले काठमाडौँको नक्साल र सुन्धारामा रहेका उहाँका अन्य ठेगानाहरूमा पनि सोमबार नै एकैपटक छापा मारेको हाे ।











