हेटाैंडा, चैत्र २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिएको छ । नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा उपलब्ध गराउन मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पताललाई निर्देशन दिएको हो ।
मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले एसोसिएसन फ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल–अफिन, नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई पत्र जारी गर्दै गत कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । सो सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।
सम्झौताअनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालहरुमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई नेपाल सरकारको कम्तीमा पाँचौं तहको सुरु तलब स्केल हालको ३४ हजार ७३० कात्तिकदेखि नै दिने र अन्य निजी तथा सामुदायिक अस्पताल, डेन्टल कलेजहरुले हालको तलब ३४ हजार ७३० को ८० प्रतिशत तलब उपलब्ध गराउनुपर्ने भनिएको थियो ।सहमतिअनुसार पारिश्रमिक नदिएको पाइए आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।












