मकवानपुर, चैत्र २१ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा बजार क्षेत्रको सडक विस्तार लामो समयसम्म अन्योलमा राख्न नहुने बताउनुभएको छ । उहाँले १६ मिटर वा २५ मिटरको बहसमा अल्झिरहनु उपयुक्त नभएको उल्लेख गर्दै छिट्टै स्पष्ट निर्णयमार्फत निकास दिनुपर्नेमा जोड दिनुभयो ।
शनिबार मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभामा बोल्दै मुख्यमन्त्री बानियाँले राप्तीपुलदेखि रातोमाटेसम्म बाइपास सडक निर्माणपछि बजार क्षेत्रमा १६ मिटर सडक विस्तार पर्याप्त हुने धारणा राख्नुभयो । उहाँले यस विषयमा संघीय सरकारसँग आवश्यक समझदारी गरी आवश्यक परे प्रदेश सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रदेश राजधानी हेटौंडालाई लामो समयसम्म अव्यवस्थित रूपमा राख्न नहुने भन्दै उहाँले सडक विस्तारको विषयलाई छिट्टै निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिनुहुँदै सडक विस्तारबाट प्रभावित व्यवसायीको समस्या समाधान गर्न कर्जा सहुलियतको व्यवस्था गर्न संघीय सरकारसँग अनुरोध समेत गर्नुभयो ।
फरक प्रशंगमा उहाँले संघीय सरकारले सरकारी मिडियाबाहेक अन्य मिडियामा विज्ञापन नगर्ने निर्णयप्रति पनि कटाक्ष गर्दै स्पष्ट परिपत्र पठाउन आग्रह गर्नुभयो । तीनै तहका सरकारका काम संविधानमै स्पष्ट उल्लेख भएकाले संविधान संशोधन नभएसम्म त्यसअनुसार काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू एकालाल श्रेष्ठ, भारती पाठक, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, संघका पूर्व अध्यक्षहरूलगायतको आतिथ्यता रहेको थियो । मकवानपुर उद्योग वाणिज्य संघमा हाल २ हजार २ सय ६५ सदस्य आबद्ध छन् ।











