मकवानपुर, चैत्र १८ । हावाहुरीसहित परेको चट्याङ लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्लाको बागमती गाउँपालिका–१ भैँसेस्थित बागमती खोलाको बगरमा मंगलबार साँझ करिब ६ः३० बजे भएको घटनामा अन्दाजी ३२ वर्षीय अजय पहरीकाे मृत्यु भएकाे हाे ।
स्थानीय अजय पहरी र ३७ वर्षीय उज्वल थोकर माछा मारेर घर फर्किने क्रममा हिँडिरहेका बेला चट्याङ लाग्दा दुवै जना घाइते भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगि घाइतेमध्ये उज्वल थोकरलाई उपचारका लागि हेटौँडा ल्याइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अजय पहरीलाई प्रारम्भिक उपचारका लागि झुरझुरेस्थित सान्भि पोलिक्लिनिक लगिएकोमा थप उपचारका लागि हेटौँडा पठाइए पनि राति ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेकाे प्हरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











