हेटाैंडा, १२ चैत । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा पु¥याइएको छ । सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले पालिकामा पाइने सम्पूण सेवा घरदैलोमै उपलब्ध गराएकाे हाे ।
बुधबार वडा नं. १ को दुङ्गुमा आयोजना गरिएको शिविरबाट वडा नं. १, २ र ३ का बासिन्दालाई स्वास्थ्य, कृषि, पशुपन्छी, आयुर्वेदलगायत विभिन्न सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयाे । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित सञ्चालन गरिएको शिविरमार्फत एकै स्थानबाट बहुक्षेत्रीय सेवा प्रवाह गरिएको छ । घरदैलोमै सेवा स्थानीयवासी उत्साहित तथा खुशी देखिएका थिए ।
शिविरमा २६० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् भने २५० जनाले आयुर्वेद सेवा लिएका छन् । अशक्त तथा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य जाँच र औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । जनप्रतिनिधिहरूले ज्येष्ठ नागरिकको घरमै पुगेर सम्मान गर्नुका साथै पोषिलो खाद्य सामग्रीसमेत वितरण गरेका छन् ।
कृषि तथा पशुपन्छी कार्यक्रमअन्तर्गत १८० परिवारलाई घाँसको बीउ र पशु औषधि वितरण गरिएको छ । यस्तै २०० थान तरकारी मिनिकिट, २० थान टनेल प्लास्टिक, तीन कृषक समूहलाई मिनी टिलर, १० थान स्प्रे पम्प र २० वटा ग्रीन नेट वितरण गरिएको जनाइएको छ ।
शिविरकै क्रममा २५ जना सुत्केरीलाई ‘सुनौलो हजार दिन’ कार्यक्रमअन्तर्गत पोषण सामग्री वितरण गरिएको छ भने चार जनाको अपाङ्गता पहिचान गरी परिचयपत्र प्रदान गरिएको छ । लघुउद्यमतर्फ पाँच जनालाई मौरीपालन प्रविधि हस्तान्तरण गरिएको छ । उद्यमशीलता प्रवर्द्धनका लागि २७ जनाले नयाँ उद्यमका लागि आवेदन दिएका छन् भने २४ जनाले परामर्श सेवा लिएका छन् । साथै ५० जनाले स्वरोजगार कार्यक्रमका लागि फारम भरेका छन् ।
गाउँपालिकाले सबै वडामा सेवा विस्तार गर्ने लक्ष्यसहित आगामी दिनमा पनि घुम्ती शिविर सञ्चालन गर्ने जनाएको छ । सोअनुसार चैत १६ गते वडा नं. ९ डन्टार, चैत १८ गते वडा नं. ८ पाम्बुङ र चैत २० गते वडा नं. ७ जुरेथुममा शिविर आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
राक्सिराङमा एकीकृत घुम्ती शिविरमार्फत गाउँटोलमै सेवा प्रदान
घरदैलोमै सेवा पाउँदा स्थानीय खुसी











